बुटवलमा शनिबारबाट अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

चैत्र २०, २०८० | तिलोत्तमा

रुपन्देहीको बुटवलमा आगामी शनिबारबाट मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिका बुद्धिचाल संघको आयोजनामा ४ दिनसम्म कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको हो । 

बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुधिर पुनले नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, अमेरिकाबाट गरी अहिलेसम्म १ सय १७ जनाले नाम दर्ता गराईसकेको बताउनुभयो । 

प्रतियोगितामा सहभागी हुनको लागि रुपन्देही जिल्लाका खेलाडीलाई ३ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । जिल्लाका विद्यार्थीलाई २ हजार, रुपन्देही बाहिरकालाई ७ हजार रुपैयाँ र नेपाल बाहिरका खेलाडीलाई १० हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको संघका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

नेपालमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको यो प्रतियोगितामा श्रेणी अनुसार ५१ सहित ७१ जनालाई पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

त्यस्तै, द्वितीय हुनेलाई १ लाख १० हजार, तृतीय हुनेलाई ६० हजार, चौंथो हुनेलाई ४० हजार, पाँचौंलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । छैठौंदेखि दशौं सम्मलाई २० हजार, एघारौंदेखि १५ औं सम्मलाई १५ हजार र १६औंदेखि २० औं आउनेलाई १३ हजार रुपैयाँलाई पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक माधव प्रसाद प्रधानले बताउनुभयो । 

विधागत रुपमा २० वटा विधामा खेल खेलाईने छ । विधागत रुपमा उत्कृष्ट हुने २० जनालाई ५१ हजार देखि १० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिने छ । 

प्रतियोगितामा कुल १० लाख १ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने बजेट रहेको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि करीब ४६ लाख रुपैयाँ लाग्ने अनुमान आयोजकको छ । 

बुटवल उपमहानगरपालिकाले १५ लाख रुपैयाँ प्रदान गरेको छ भने १५ लाख रुपैयाँ खेलाडी दर्ताबाट संकलन हुने र बाँकी रकम सहयोग संकलन गरी प्रतियोगिता सम्पन्न गरिने संयोजक प्रधानले बताउनुभयो । 


प्रतिक्रिया