एसएमएस फ्रेन्डसिप कपमा नेपालको दोस्रो जित, बरोडाको टीम २७ रनले पराजित

चैत्र २०, २०८० | काठमाडौं

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपमा लगातार दोस्रो जित निकालेको छ ।

मङ्गलबार भएको खेलमा बरोडाको टीमलाई २७ रनले पराजित गर्दै नेपालले दोस्रो जित दर्ता गराएको हो । गुजरातको भापीस्थित क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङ गर्दै नेपालले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा बरोडाको टोली निर्धारीत ओभरमा अलआउट हुँदै १ सय २९ रनमा समेटिएको थियो ।

नेपालका लागि करण केसीले तीन, सोमपाल कामी र अविनाश बोहोराले समान २÷२ तथा गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १÷१ विकेट लिएका थिए । यसअघि नेपालले कुशल मल्लको ४० रनको योगदानमा १ सय ५६ रनको योगफल तयार पारेको थियो । त्यस्तै, कप्तान रोहितकुमार पौडलले १८ र अनिल शाहले २५ रन बनाएका थिए ।

छैटौं नम्बरमा ब्याटिङ गरेका सन्दिप जोराले २९ रनको योगदान गरेका थिए । नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल एसीसी मेन्स प्रिमियर कप र टी–२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो । 


प्रतिक्रिया