वेस्टर्न क्रिकेट क्लब ४ विकेटले विजयी

चैत्र २३, २०८० | तिलोत्तमा

‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा वेस्टर्न क्रिकेट क्लब विजयी भएको छ । सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा वेस्टर्न क्रिकेट क्लबले जेआर त्रिकेट क्लबलाई ४ विकेट पराजित गरेको हो । 

जेआर क्रिकेट क्लबले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टर्न क्रिकेट क्लबले २४ ओभर ५ बलमा ६ विकेट गुमाएर ११८ रन बनायो । 

वेस्टर्नका लागि दिपेश रोक्काले सर्वाधिक ४४ रन बनाए । सन्देश थापाले नटआउट ३० रनको योगदान गरे । जेआरका सन्दीप सुनारले ३ विकेट लिए । नरेन साउदले २ तथा प्रकाश जैसीले १ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जेआरले २९.२ ओभरमा अलआउट हुँदै ११५ रनको सामान्य योगफल बनाएको थियो । जेआरका विशाल भुसालले सर्वाधिक २८ रन बनाए । खडक बोहराले २३, दल बहादुर छेत्रीले २० तथा अनमोल थापाले १९ रन बनाए । 

जेआरलाई सस्तैमा रोक्न वेस्टर्नका अभिसेस गौतम एक्लैले ५ विकेट लिए । त्यस्तै, विष्णु पाण्डेले ३ तथा मृनाल गुरुङ र सुप्रिम कँडेल ले १/१ विकेट थिए । 

वेस्टर्नका अभिसेस गौतम प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत शुक्रबार हुने खेलमा भैरहवाको तिरुपती क्लबले बुटवल–११ सँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया