लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन शनिबार

चैत्र २४, २०८० | तिलोत्तमा

लुम्बिनीमा शनिबार अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ । लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको यो दोस्रो संस्करण हो । गत वर्ष नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद लुम्बिनीले म्याराथन आयोजना गरेका थिए । 

यसवर्ष भने नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद लुम्बिनी, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा म्याराथनको आयोजना गरेका हुन् । 

म्याराथन शनिबार बिहान ६ बजे लुम्बिनी स्कवायरबाट सुरु भई भैरहवासम्म आएर पुनः लुम्बिनी स्कवायर गई टुंगिनेछ । म्याराथनमा सहभागी हुने अन्तर्राष्ट्रिय एवं राष्ट्रिय धावक लुम्बिनी आइसकेको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले बताउनुभयो । 

४२ दशमलव १९५ मिटर दूरीको म्याराथन वे प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय संस्था एम्स (एशोसिएशन अफ इन्टरनेशनल म्याराथन एन्ड डिस्टेन्स रेसेज) का प्रतिनिधि आएर मापन गरी रुट प्रमाणित भएको र अन्तर्राष्ट्रिय म्याराथनको क्यालेण्डरमा समेत सूचीकृत हुने भट्टराईले जानकारी दिनुभयो । 

लुम्बिनी म्याराथन रुट प्रमाणिकरण भएसँगै नेपालमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको ४ वटा म्याराथन रुट भएका छन् । ‘काठमाडौं, पोखरा र नेपालगञ्ज म्याराथन रुटले अन्तर्राष्ट्रिय म्याराथनको मान्यता पाइसकेका थिए,’ उहाँले भन्नुभयो, ‘लुम्बिनीले समेत सो मान्यता पाउन सफल भएको छ ।’ 

विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन यो म्याराथन गर्दै आएको र प्रतियोगिता हरेक वर्ष यहीं दिवसमा आयोजना हुने भट्टराईले बताउनुभयो । यसले विश्वभर रहेका धावकमाझ बुद्धजन्मस्थल लुम्बिनीमा यो मितीमा प्रतियोगिता हुँदैछ भन्ने सन्देश पहिले नै जाने र धावक संख्या समेत बढ्ने उहाँको भनाई छ ।

यो म्याराथन विश्वभरि नै उत्कृष्ट बनाउने लक्ष्य रहेको भन्दै उहाँले लुम्बिनीको पर्यटन प्रवर्र्धन, विकास एवम् पहिचानमा समेत म्याराथन सहयोगी बन्ने बताउनुभयो । 

यस पटक पुरुषतर्फको म्याराथनमा प्रथम हुनेले ५ लाख रुपैयाँ, दोस्रो ३ लाख रुपैयाँ, तृतीय हुनेले २ लाख, चौथोले १ लाख तथा पाँचौंदेखि दशौं स्थानसम्म आउनेले क्रमशः ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

महिलातर्फको हाफ म्याराथनमा प्रथम हुनेले २ लाख, द्धितीयले १ लाख ६० हजार तथा तृतीयले १ लाख २० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव भट्टराईले बताउनुभयो । 

५ किलोमिटरको खुला महिला÷पुरुषको दौड र विद्यालयका छात्र/छात्राको लागि ३ किलोमिटरको वाकाथन समेत आयोजना हुनेछ । ५ किमी र ३ किमी दुबै प्रतिस्पर्धाका विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

यस पटक पुरुषतर्फको म्याराथनमा ६०, महिलातर्फको हाफ म्याराथनमा २० जना, ५ किमीमा विद्यालयतर्फ १ सय जना तथा खुलामा ६५ एवं वाकाथनमा २ सय बढीको सहभागिता हुने बताईएको छ । 

लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय म्याराथनको छुट्टै महत्व रहेको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव भट्टराईले बताउनुभयो । 

खेलका माध्यमबाट पर्यटन एवं लुम्बिनीको प्रवद्र्धन गर्न सकिने भन्दै उहाँले अन्तर्राष्ट्रिय पिस फेस्टिबल र म्याराथनले यतिबेला लुम्बिनीमा बेग्लै चहलपहल रहेको बताउनुभयो ।


प्रतिक्रिया