नेपाल ‘ए’ ले आयरल्यान्डसँग आज तेस्रो एक दिवसीय क्रिकेट खेल्दै

चैत्र २५, २०८० | काठमाडौं

नेपाल ‘ए’ टिमले पाहुना टोली आयरल्यान्ड उल्भ्ससँग आज तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अहिले केहीबेरमा सुरु हुनेछ । 

यसअघि आफ्नो पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सिरिज भने गुमाइसकेको छ । सिरिज गुमाइसकेको घरेलु टोली नेपाल क्लिन स्विपबाट बच्न लक्ष्यमा छ । आयरल्यान्ड भने सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ ।

नेपाल पाहुना टोली आयरल्यान्डसँगको पहिलो खेलमा २१ रन र दोस्रोमा १ सय १४ रनले पराजित भएको थियो । पहिलो खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ३६ रनमा अलआउट भएको थियो । 

दोस्रो खेलमा १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले ६० रनमा सबै विकेट गुमाएर लज्जास्पद हार बेहोरेको थियो । यसअघि आयरल्यान्डले तीन खेलको टी–२० सिरिजमा नेपाललाई २–१ ले हराएको थियो ।


प्रतिक्रिया