एसएमएस फ्रेन्डसिप कपको उपाधि नेपाललाइः गुजरात १८ रनले पराजित

चैत्र २५, २०८० | काठमाडौं

भारतमा आयोजित एसएमएस फ्रेन्डसिप टी–२० कपको उपाधि नेपालले जितेको छ ।

आज भएको फाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको गुजरात क्रिकेट एसोसिएसनको टोलीलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो । गुजरातको भापीस्थित मैदानमा टस जितेर सुरुवाती ब्याटिङ गरेको नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ५८ रनमा रोकिएको हो ।

नेपालका लागि अभिनाश बोहोराले २६ रन खर्चिएर ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले १३ रन खर्चिएर २ विकेट लिए भने करण केशी र कुशल मल्लको नाममा एक एक विकेट रह्यो । त्यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले कप्तान रोहित कुमार पौडेलको ७४ रनको अर्धशतकिय इनिङ्समा ४ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि अशिफ शेखले ३४, कुशल मल्लले नटआउट ३१ र कुशल भुर्तेलले १९ रन बनाए । एसिया कप छनोटको तयारीमा भारत भ्रमणमा रहेको नेपाले भारतमा सो फ्रेण्डसिप कप खेलेको हो ।

नेपाल आर्को साता हुने एसीसी प्रिमियर कप टी–२० क्रिकेट खेल्न भारतबाटै ओमान जानेछ । नेपाली टोलीले ओमानमा अप्रिल १२ बाट हुने एसिया कप छनोटका लागि प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया