पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

वैशाख ५, २०८१ | काठमाडौं

पेरिस सेन्ट जर्मेन पीएसजीले बार्सिलोनालाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

क्वाटरफाइनलको दोस्रो लेगको खेलमा पीएसजीले उत्कृष्ट पुनरागमन गर्ने क्रममा बार्सिलोनालाई उसकै घरेलु मैदानमा ४–१ गोल अन्तरले पराजित गरेको हो । 

राफिन्हाले खेलको १२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा पीएसजीका ओसमन डेम्बेले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । 

दोस्रो हाफमा केलियन एमबापेले दुई तथा र भिटिन्हाले एक गोल गर्दै पीएसजीलाई अन्तिम चारमा पुर्‍याए । पहिलो लेगमा पीएसजी बार्सिलोनासँग ३–२ गोलले पराजित भएको थियो । 

दोस्रो लेगमा प्राप्त यस जितपछि पीएसजीले समग्रमा ६–४ को निर्णायक अग्रता लिएको छ । अब सेमिफाइनलमा पीएसजीले बोरुसिया डर्टमन्डको सामना गर्नेछ ।

यसैबीच, च्याम्पियन्स लिगको अर्को खेलमा बोरुसिया डर्टमन्डले एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । 

क्वाटरफाइनलको दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले हराउँदै बोरुसिया डर्टमन्ड ११ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । 

यो जितसँगै बोरुसिया डर्टमन्डले समग्रमा ५–४ को अग्रता लिन सफल रह्यो । डर्टमन्ड पहिलो लेगमा २–१ ले पछाडि रहेको थियो । 


प्रतिक्रिया