रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

वैशाख ६, २०८१ | काठमाडौं

साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

इतिहाद स्टेडियममा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा सिटीलाई रियल म्याड्रिडले टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको हो । 

पराजयसँग सिटी प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको छ । सिटीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा १–१ गोलको बराबरी भएपछि प्रतिस्पर्धा ४–४ को बराबरीमा पुगेको थियो । 

रियलले खेलको १२ औं मिनेटमा रोड्रिगोको गोलले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन् । सिटीका लागि खेलको ७६ औं मिनेटमा केभिन डे ब्रुइनाले बराबरी गोल फर्काए । बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

यस्तै, लिगको अर्को खेलमा आर्सनलाई हराएर बायर्न म्युनिख सेमिफाइनलमा प्रवेश गरेको छ । एलियन्ज एरिना स्टेडियममा गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा बायर्नले आर्सनललाई १–० गोलले पराजित गरेको हो । 

खेलको ६३ औं मिनेटमा बायर्न म्युनिखका जोशुआ किमिचले गरेको गोल निर्णायक बन्यो । यो जितसँगै बायर्न म्युनिखले समग्रमा ३–२ को अग्रता लिएको छ । क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र आर्सनलले २–२ गोलको बराबरी खेलेको थियो ।


प्रतिक्रिया