फिफा विश्वकप छनोट : नेपालले यमनको सामना गर्दै

तस्बिर : किरण चेम्जोङको फेसबुकबाट 

जेष्ठ २९, २०८१ | काठमाडौं

फिफा विश्वकप र एसिया कप फुटबलको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दैछ । 

साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहाद स्टेडियममा हुने नेपाल र यमनबीचको खेल राति पौने १२ बजे सुरु हुनेछ । 

यो खेल यमनमा हुनुपर्ने हो । तर, यमनले घरेलु मैदानमा नेपाललाई आतिथ्यता दिन नसक्ने बताएपछि तटस्थ भूमिका रुपमा खेल साउदी अरेबियामा हुन लागेको हो । 

नेपाल यसअघिका सबै खेलमा पराजित भएसँगै फिफा विश्वकप छनोटबाट बाहिरिइसकेको छ । यमनविरुद्धको खेलसँगै नेपालले यस पटकको विश्वकप छनोट यात्रा टुंग्याउँदै छ ।

यसअघि नेपालले साउदी अरेबियामै संयुक्त अरब इमिरेट्स यूएईकै सामना गरेको थियो । सो खेलमा नेपाल यूएईसँग ४–० गोलले पराजित भएको थियो । 

समूह ‘एच’ मा रहेको नेपाल अंकविहीन हुँदै पुछारमा छ । दोस्रो चरणमा ५ खेल खेलेको नेपालले १८ गोल बेहोर्दा एक गोल पनि फर्काउन सकेको छैन । दोस्रो चरणमा एक गोल पनि गर्न नसक्ने नेपाल एक मात्र टिम हो ।

यसैबीच, नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले आज नेपालका तर्फबाट १ सयौँ अन्तर्राष्ट्रिय खेल खेल्दै छन् । 

उनी नेपालका लागि १ सय अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो र एकमात्र खेलाडी बन्दै छन् । उनीभन्दा अगाडि नेपालका लागि सर्वाधिक खेल खेल्ने विराज महर्जन हुन् । विराजले ७३ अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।


प्रतिक्रिया