साउथ अफ्रिकाले विश्वकप क्रिकेटमा बंगलादेशलाई ४ रनले हरायो

जेष्ठ २९, २०८१ | काठमाडौं

साउथ अफ्रिकाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हासिल गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गएराति भएको समूह ‘डी’को खेलमा साउथ अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको हो । 

जितका लागि १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेश निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रनमा समेटियो । बंगलादेशका लागि तौहिद हृदयले सर्वाधिक ३७ रन बनाए । 

महमुदुल्लाहले २० तथा कप्तान नजमुल हुसेन शान्तोले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोर अंकमा रन बनाउन सकेनन् । साउथ अफ्रिकाका लागि केशव महाराजले ३ तथा कागिसो राबाडा र एनरिच नोटर्जेले समान २/२ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए । 

यस्तै, डेभिड मिलरले २९ र क्वीन्टन डी ककले १८ रन बनाए । बंगलादेशका लागि तान्जिम हसन साकिबले ३, तस्किन अहमदले २ तथा रिशाद हुसेनले एक विकेट लिए । 

यो नतिजासँगै साउथ अफ्रिका तीन खेलबाट ६ अंक सहित समूह ‘डी’को शीर्ष स्थानमा रहेको छ । बंगलादेश दुई अंकका साथ दोस्रो स्थानमा रह्यो । सोही समूहमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा भोलि श्रीलंकाको सामना गर्नेछ । 


प्रतिक्रिया