फिफा विश्वकप छनोटमा नेपाल र यमनबीच २-२ गोलको बराबरी

जेष्ठ ३०, २०८१ | काठमाडौं

फिफा विश्वकप फुटबल २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपाल यमनसँग बराबरीमा रोकिएको छ । साउदी अरेबियाको प्रिन्स मोहमद विन फहद स्टेडियममा गएराति भएको खेलमा नेपालले यमनविरुद्ध २–२ गोलको बराबरीमा खेलेको हो । 

नेपालले अन्तिम समयमा अग्रता जोगाउन नसक्दा यमनसँग बराबरीमा रोकिन पुगेको हो । खेलको नवौं मिनेटमा नसिम अल–गहवाहीले पेनाल्टी मार्फत गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । 

त्यसपछि खेलको २२ औं मिनेटमा सञ्जीव विष्ट र ६६ औं मिनेटमा जिलेप्सीजँग कार्कीले एक–एक गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा मोहम्मद अल–दाहीले बराबरी गोल फर्काए । नेपालले दोस्रो चरणको आफ्नो पाँचौं तथा अन्तिम खेलमा एक अंक जोडेको छ ।

यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले नेपालका तर्फबाट १ सयौँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन् । उनी नेपालका लागि १ सय अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो र एकमात्र खेलाडी समेत बनेका छन् । 

उनीभन्दा अगाडि नेपालका लागि सर्वाधिक खेल खेल्ने विराज महर्जन हुन् । विराजले ७३ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । नेपालले समूह ‘एच’मा ६ खेल खेल्दै १ अंकसहित दोस्रो चरणको यात्रा टुंग्याएको छ । 

नेपाल रहेको समूहमा संयुक्त अरब इमिरेट्स (यूएई) १६ अंकसहित पहिलो र बहराइन ११ अंकसहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । विश्वकप छनोटबाट बाहरिएको नेपालले अब एसिया कप छनोटको तेस्रो चरण खेल्नेछ ।


प्रतिक्रिया