इंग्ल्यान्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

असार १०, २०८१ | काठमाडौं

इंग्ल्यान्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । वेस्ट इन्डिजको केन्सिङ्टन ओभल स्टेडियममा गएराति भएको सुपर एटको समूह–२ अन्तर्गतको खेलमा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो ।

यो जितपछि सुपर एटको समूह–२ मा तीन खेलबाट ४ अंकसहित इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो । जितका लागि अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ९ ओभर ४ बलमा बिना विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो । 

इंग्ल्यान्डका लागि जोस बटलरले विस्फोटक ब्याटिङ गरे । बटलरले ३८ बलमा ६ चौका र ७ छक्का सहित नटआउट ८३ रनको योगदान दिए । अर्का ब्याटर फिल साल्टले नटआउट २५ रन जोडे ।

त्यसअघि इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । 

अमेरिकाका लागि नीतिश कुमारले सर्वाधिक ३० रन जोडे । यस्तै, कोरी एन्डरसनले २९ रन, हरमित सिंहले २१, स्टिभन टेलरले १२ रन बनाए । इंग्ल्यान्डका लागि क्रिस जोर्डानले सर्वाधिक ४ विकेट लिए । 

यस्तै, साम कुरान र आदिल रसिदले २–२ तथा रिक्की टोप्ले र लियाम लिभिङस्टोनले समान १–१ विकेट हात पारे ।


प्रतिक्रिया