अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश

तस्बिर : रोयटर्स 

असार २६, २०८१ | काठमाडौं

साविक विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा बिहान भएको अन्तिम चारको खेलमा क्यानडालाई २–० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि यात्रा तय गरेको हो । 

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेसीले एक–एक गोल गरे । अल्भारेजले खेलको २२ औं मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । 

खेलको ५१ औं मिनेटमा मेसीले गरेको गोल अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । यस प्रतियोगितामा मेसीको यो पहिलो गोल हो । योसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । 

अर्जेन्टिनाका लागि मेसीको यो १ सय ९ औं गोल हो । उनले इरानका अली दाइलाई उछिनेका हुन् । दाइले १ सय ८ गोल गरेका छन् । 

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १ सय ३० गोलसहित शीर्ष स्थानमा छन् । कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोलि उरुग्वेले कोलम्बियाको सामना गर्नेछ । भोलि हुने खेलको विजेताले उपाधिका लागि आगामी सोमबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया