रसियन टोलीसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल पराजित

श्रावण ७, २०८१ | काठमाडौं
नेपाली राष्ट्रिय महिला भलिबल टोली रसियन टोलीसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित भएको छ ।
यो नतिजासँगै रसियन टोलीले दुई मैत्रीपूर्ण खेलको सिरिज २–० ले जितेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपालमाथि रसियन टोलीले २५–१४, २५–२३ र २५–२२ को जित निकाल्योे ।
यसअघि हिजो भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमै पराजित भएको थियो ।
काठमाडौंस्थित रसियन दूतावासको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यही साउन १७ देखि काठमाडौंमा आयोजना हुने काभा नेसन्स लिगको तयारीका लागि नेपालले रसियन महिला भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।