नेपाल सेमिफाइनलमा कीर्गिस्तानसँग पराजित

श्रावण ८, २०८१ | काठमाडौं

नेपाल, काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइलमै रोकिएको छ । माल्दिभ्सको मालेस्थित सिटी हलमा गएराति भएको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो । 

नेपाललाई २५-१४, २५-२२ र २५-१३ को सोझो सेटमा हराउँदै कीर्गिस्तानले उपाधि यात्रा तय गरेको छ । नेपाल यसअघिको आफ्नो पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा कीर्गिस्तानसँग पराजित भएको थियो । 

तेस्रो खेलमा भने नेपालले आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो । अब नेपालले तेस्रो स्थानका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, प्रतियोगिताको अर्को खेलमा आयोजक माल्दिभ्सलाई हराउँदै श्रीलंका फाइनलमा प्रवेश गरेको छ । मालेमा हिजो भएको सेमिफाइनलमा श्रीलंकाले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । 

च्याम्पियनसिपको फाइनलमा श्रीलंकाले कीर्गिस्तानको सामना गर्नेछ । च्याम्पियनसिपको फाइनल र तेस्रो स्थानको खेल भोलि हुनेछ ।


प्रतिक्रिया