नेपाल एसीसी महिला एसिया कपको समूह चरणबाट बाहिरियो

श्रावण ९, २०८१ | काठमाडौं

नेपाल, एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकाको रागिंरा दाम्बुला इन्टरनेसनल स्टेडियममा गएराति भएको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल साविक विजेता इण्डियासँग ८२ रनले पराजित भएको हो । 

जितका लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । ओपनर सीता रानामगरले सर्वाधिक १८ रन बनाइन् । 

कप्तान इन्दु बर्माले १४ रन, रुविना क्षेत्रीले १५ रन जोड्न बाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । इण्डियाका लागि दिप्ती शर्माले ३ विकेट लिइन् । यस्तै, राधा यादव र अरुन्धती रेड्डीले समान २/२ तथा रेनुका सिंहले एक विकेट हात पारिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इण्डियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । इण्डियाका लागि सफाली वर्माले सर्वाधिक ८१ रन बनाईन् । महिला ट्वान्टी-२० अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर पनि हो । 

दयालान हेमालथाले ४७ र जेमिमाह रोड्रिग्जले २८ रन जोडिन् । नेपालका लागि सीता रानामगरले २ तथा कविता जोशीले १ विकेट लिइन् । नेपालले समूह चरणमा तीन खेलमा एकमा जित र दुईमा हार बेहोर्‍यो । 

नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स यूएईलाई हराएको थियो । दोस्रो खेलमा भने नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भयो । 

योसँगै अपराजित इण्डिया समूह ‘ए’को शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको छ । सोही समूहबाट पाकिस्तानले ३ मध्य दुई खेल जितेर उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । पाकिस्तानले आफ्नो तेस्रो खेलमा यूएईलाई १० विकेटले हराएको थियो ।


प्रतिक्रिया