महिला एशिया कपको सेमिफाइनल समीकरण पूरा

श्रावण १०, २०८१ | काठमाडौं

एसीसी महिला एशिया कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘बी’को हिजो भएको अन्तिम खेलमा आयोजक श्रीलंकाले थाइल्याण्डलाई १० विकेटले पराजित गरेको थियो । जितका लागि पाएको ९४ रनको सामान्य लक्ष्य श्रीलंकाले ११ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

श्रीलंकाका लागि ओपनर विष्मी गुणरत्नेले ३९ र चामरी अथापट्टुले नटआउट ४९ रन बनाए । त्यसअघि रागिंरा दाम्बुला इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । 

थाइल्याण्डका लागि नानापाट कोनचारो–एकाईले सर्वाधिक ४७ रन बनाईन् । अन्य खेलाडीको प्रदर्शन खासै राम्रो हुन सकेन । 

श्रीलंकाका काभिसा दिलहरीले दुई विकेट लिईन् । यो नतिजासँगै अपराजित श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको छ ।

यसअघि हिजै भएको खेलमा बंगलादेशले मलेसियालाई १ सय १४ रनको फराकिलो अन्तरमा हराएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा २ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । उसका लागि ओपनर मुर्सिदा खातुनले ८० रनको अर्धशतकीय इनिङ्स खेलिन । 

जवाफी ब्याटिङमा आएको मलेसियाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ७७ रनमात्र बनाउन सक्यो । यो जितसँगै बंगलादेशले समूह ‘बी’को दोस्रो स्थानमा सेमिफाइनल यात्रा तय गरेको हो ।सेमिफाइनल भोलिबाट सुरु हुनेछ । भोलि हुने पहिलो सेमिफाइनलमा इण्डियाले बंगलादेश तथा दोस्रो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया