एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा चर्च ब्वाइज युनाइटेड र पारो क्लबबीच भोलि प्रतिस्पर्धा हुने
श्रावण २८, २०८१ | काठमाडौं
सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीच भोलि एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल हुँदैछ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । आज भएको प्री म्याच कन्फरेन्समा दुवै टोलीले सुखद नतिजाका लागि तयार रहेको बताएका छन् ।
चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले तयारी छोटो भएपनि खेलका लागि टोली तयार रहेको बताए । यस्तै, कप्तान अनन्त तामाङले घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट नतिजा हात पार्ने बताए ।
यता, पारो एफसीले ३ पटक विश्वकप खेलेका जापानका स्टार केसुके होन्डासहित ११ विदेशी खेलाडीलाई टिममा भित्र्याएको छ । राष्ट्रिय टिमका अधिकांश खेलाडी समावेश गरेको चर्च ब्वाइजलाई नेपालको राष्ट्रिय टोली बराबर मान्न सकिने पारोका मुख्य प्रशिक्षक पुष्पलाल शर्माले बताए । सोही अुनसार आफ्नो टिमले तयारी गरेको र उत्कृष्ट प्रदर्शन गर्ने उनले दाबी गरेका छन् ।