यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडलाई

श्रावण ३१, २०८१ | काठमाडौं

रियल म्याड्रिडले कीर्तिमानी छैटौं पटक यूईएफए सुपर कप फुटबलको उपाधि जितेको छ । पोल्याण्डको नेशनल स्टेडियम वार्सामा गएराति भएको फाइनलमा एटलान्टालाई २–० गोलले हराएर रियल म्याड्रिड यूईएफए सुपर कप–२०२४ को च्याम्पियन बनेको हो । 

फेडेरिको भाल्भरडेले खेलको ५९ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको नौ मिनेटपछि केलियन एमबाप्पेले गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो । 

एमबाप्पेले खेलको ६८ औं मिनेटमा जुड बेलिङह्यामको पासलाई गोलमा परिणत गरेका थिए । पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी यसै रियल गएका हुन् । रियलको डेब्यु खेलमै एमबाप्पे गोल गर्न पनि सफल रहे । 

यो जिसँगै कीर्तिमानी छैटौं उपाधि जितेर रियल मड्रिड सुपर कप इतिहासकै सबैभन्दा सफल क्लब बनेको छ । यसअघि रियलले सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो । बार्सिलोनाले पाँच पटक उपाधि जितेको छ ।


प्रतिक्रिया