साफ यू–२० च्याम्पियनसिपको तयारी पूरा, मैदानको टुङ्गो लाग्न बाँकी

श्रावण ३१, २०८१ | काठमाडौं

काठमाडौंमा हुने साफ यू–२० फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

प्रतियोगिता सुरु हुन मात्र तीन दिन बाँकी भएपनि खेल मैदानको भने अझै टुङ्गो लागेको छैन । गत मंगलबार एएफसी च्यालेन्ज कपको प्लेअफअन्तर्गत चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको हिलाम्मे मैदानमा खेलाइएको थियो ।

एन्फाले वैकल्पिक मैदानका रुपमा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानलाई राखेपनि उद्धघाटन खेल तथा सेमिफाइनल र फाइनल खेल भने दशरथ रंगशालामै हुने बताइएको छ । म्याच कमिस्नरको निरिक्षण पश्चात मात्र मैदानको टुङ्गो लाग्ने एन्फाका प्रवक्ता सुरेश शाहले बताए । आगामी आइतबारबाट सुरु हुने प्रतियोगितामा सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् भने समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् । भदौं १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्ध्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्व खेल्नेछ । नेपालको कप्तानी कुशल देउवाले सम्हाल्ने छन् । यसैबीच, साफ च्याम्पियनसिप खेल्न माल्दिभ्सको टोली आज नेपाल आईपुगेको छ । भुटान, श्रीलंका र भारतको टोली भोली आईपुग्ने छन् भने बंगलादेशको टोली पर्सि नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।                            


प्रतिक्रिया