राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने

भाद्र २५, २०८१ | काठमाडौं

काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ ।

 देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता गरिएको छ ।

आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रबीच सो सम्झौता भएको हो ।

सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन केन्द्रले आफ्नै स्रोतबाट गर्नेछ ।

उक्त सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ ।

सो अवसरमा मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रमका लागि अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


प्रतिक्रिया