एन्फा महिला लिग फुटबलमा एपीएफ क्लबको अपराजित यात्रा कायमै

भाद्र ३०, २०८१ | काठमाडौं

विभागीय टोली नेपाल एपीएफ क्लबले एन्फा महिला लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । एपीएफको जितमा रश्मीकुमारी घिसिङले २ तथा निशा ठोकर, गिता रानामगर, हिमा रावत र वर्षा ओलीले समान एक÷एक गोल गरिन् ।

यो नतिजासँगै ५ खेलबाट १३ अंकसहित एपीएफ शीर्ष स्थानमा छ । समान खेलबाट एक अंक जोडेको कर्णाली पुछारबाट दोस्रो स्थानमा छ । यसैबीच, आजै भएको दोस्रो खेलमा बाग्मती युथ क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँडिएको हो ।

योसँगै चन्द्रपुर ६ अंकसहित छैंटौं स्थानमा छ । बाग्मती ४ अंक जोड्दै अंक तालिकको आठौं स्थानमा छ । लिग अन्तर्गत भोली हुने खेलमा स्याङ्जाको वालिङ नगरपालिका र सुदूरपश्चिक प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।  


प्रतिक्रिया