इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको तेस्रो जित

भाद्र ३१, २०८१ | काठमाडौं

टोटनहामलाई पराजित गर्दै आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा तेस्रो जित हासिल गरेको छ । टोटनहाम हटस्पर स्टेडियममा गएराति भएको खेलमा आर्सनलले घरेलु टोलीलाई १–० गोलले हराएको हो । 

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ग्याब्रिएल म्यागालेसले खेलको ६४ औं मिनेटमा निर्णायक गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका थिए । 

यो नतिजासँगै आर्सनल चार खेलबाट १० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको १२ अंक छ । टोटनहाम चार अंकसहित तालिकाको १३ औं स्थानमा रह्यो ।

यस्तै, लिगको अर्को खेलमा हार्भे बर्नसले खेलको ८० औं मिनेटमा गरेको उत्कृष्ट गोलमा न्युकासल युनाइटेडले उल्भ्सलाई २–१ गोलले हराएको छ । गएराति भएको खेलमा एक गोलले पछाडि रहेको स्थितिमा न्युकासलले यो जित निकालेको हो । 

यससँगै लिगमा न्युकासलको अपराजित यात्रा कायम रह्यो । खेलको ३६ औं मिनेटमा मारियो लेमिनको गोल मार्फत उल्भ्सले आफ्नो घरेलु मैदानमा अग्रता लिएको थियो । फाबिन स्चरले ७५ औं मिनेटमा बराबरी गोल फर्काए । 

यो जितपछि न्युकासल १० अंकमा तेस्रो स्थानमा उक्लेको छ । उल्भ्स भने एकै अंकमा सीमित रहेर रेलिगेसन क्षेत्रमा रह्यो । नयाँ सिजन उल्भ्स लिगमा जित निकाल्न असफल रहेको छ ।


प्रतिक्रिया