ह्यारी केनले दुई गोल मद्दतमा इंग्ल्याण्ड विजयी

भाद्र २६, २०८१ | काठमाडौं

ह्यारी केनले इंग्ल्याण्डका लागि आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेलमा दुई गोल गरेका छन् । केनको दुई गोलको मद्दतमा इङ्ल्यान्डले यूइएफए नेसन्स लिग फुटबलमा फिनल्याण्डलाई पराजित गरेको छ । 

वेम्बली स्टेडियममा गएराति भएको लिग बी समूह–२ को खेलमा इङ्ल्यान्डले फिनल्याण्डलाई २–० गोलले हराएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

खेलको ५७ औं मिनेटमा केनको गोलबाट इङ्ल्यान्डले अग्रता लिएको थियो । ट्रेन्ट अलेक्ज्याण्डर–अर्नोल्डको पासलाई केनले गोलमा परिणत गरेका थिए । केनले खेलको ७६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरे । 

खेल अगाडि उनलाई सम्मान स्वरुपमा ‘गोल्डेन क्याप’ प्रदान गरिएको थियो । उनले खेलमा पनि ‘गोल्डेन बुट’ लगाएर खेलेका थिए । उनले इंग्ल्यान्डका लागि गरेको गोल संख्या ६८ पुगेको छ । यो नतिजासँगै इङ्ल्यान्ड ६ अंकका साथ लिग बी समूह–२ को दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै, लिगको अर्को खेलमा ग्रीसले आयरल्याण्डलाई २–० गोलले पराजित गरेको छ । अविभा स्टेडियममा गएराति भएको खेलमा ग्रीसको जितमा फोटिस ओआनिडिस र क्रिस्टोस जोलिसले समान एक–एक गोल गरे । 

ग्रीसको यो लगातार दोस्रो जित हो भने आयरल्याण्डले समूह चरणको खेलमा दोस्रो हार बेहोरेको हो । अन्य खेलमा नेदरल्यान्ड्सले जर्मनीसँग २–२ गोलको बराबरी खेलेको छ भने हंगेरी र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल गोलरहित बराबरीमै टुंगिएको छ । 


प्रतिक्रिया