खेल क्षेत्रबाट नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिदै : प्रधानमन्त्री ओली

भाद्र २६, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवर्धनले पारा ओलम्पिकमा कांस्य पदक जित्नु एक कोशेढुंगा भएको बताउनुभयो ।

पलेसालाई दिइने ६५ लाख रुपैयाँ पुरस्कार कर नकटाई छिट्टै प्रदान गरिने जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर समयमै प्राप्त नहुने रोग अब अन्त्य हुने दावी गर्नुभयो । 

खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिक रुपमा चलाइनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न खेलमा यो वर्ष उत्कृष्ट हुने खेलाडीलाई सम्मान वितरण गर्नुभएको थियो । 


प्रतिक्रिया