नेपाल ओमानसँग एक विकेटले पराजित

आश्विन ३, २०८१ | काठमाडौं

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको पछिल्लो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । क्यानडाको किङ सिटीस्थित मैदानमा गएराति भएको खेलमा नेपाललाई ओमानले एक विकेटले हराएको हो । 

लिग–२ को त्रिकोणानत्मक एक दिवसीय सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । 

जितका लागि २ सय २१ रनको लक्ष्य पाएको ओमानले ४९ दशमलव ५ ओभरमा नौ विकेट गुमाएर २ सय २३ रन बनाएको हो । ओमानका लागि जतिन्दर सिंहले ४१ र कश्यप प्रजापतिले ३६ रन बनाए । 

नेपालका लागि गुल्सन झाले सर्वाधिक ५ विकेट लिए । करण केसीले २ तथा आरिफ शेख र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेले ६० रनको अर्धशतकीय इनिङ्स खेले । 

यस्तै, गुल्सन झाले ५३, आरिफ शेखले ३५ र सोमपाल कामीले २० रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन । लगातार दोस्रो हारले प्रतियोगितामा नेपालको खराब प्रदर्शनको क्रम कायम रह्यो । 

नेपालले अहिलेसम्म खेलेका छ खेलमा यो पाँचौं हार हो । नेपाल २ अंकका साथ तालिकाको सातौं स्थानमा छ । ओमान ५ अंक सहित तालिकाको छैटौं स्थानमा छ । नेपालले अब आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ ।


प्रतिक्रिया