एन्फा महिला लिगः एपीएफ शीर्ष स्थानमा, चन्द्रपुर त्रिभुवन आर्मीसँग १०–० ले पराजित

आश्विन ४, २०८१ | काठमाडौं

रश्मिकुमारी घिसिङले ह्याट्रिकसहित पाँच गोल गरेसँगै एन्फा महिला लिग फुटबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले अपराजित यात्रालाई कायमै राखेको छ ।

आज भएको खेलमा कोशी प्रदेशलाई ८–० को फराकिलो गोलअन्तरले हराउँदै एपीएफले छैटौं जित निकालेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एपीएफको जितमा रश्मिकुमारी घिसिङले ५ गोल गर्दा कप्तान अनिता बस्नेतले २ तथा अनिता केसी १ गोल गरिन् ।

जितसँगै एपीएफ १९ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत छ । कोशी १० अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

चन्द्रपुर त्रिभुवन आर्मीसँग १०–० ले पराजित

आजै भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकालाई १०–० को फराकिलो गोलअन्तरले हरायो ।

आर्मीको जितमा चन्द्र भण्डारी र अमिशा कार्कीले ह्याट्रिक गर्दा, हिमा चौधरी, दिपा शाही, अन्जना राना मगर र सर्मिला थापाले एक÷एक गोल गरिन् ।

जितसँगै, आर्मी १६ अंकसहित दोस्रो स्थानमा यथावत छ । चन्द्रपुर ७ अंकसहित तालिकाको छैटौं स्थानमा छ । लिग अन्तर्गत भोली हुने खेलमा संकटा फुटबल क्लब र सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया