विश्व कराते च्याम्पियनसिमा नेपाली खेलाडी एरिकाले प्रतिस्पर्धा गर्ने

आश्विन १९, २०८१ | काठमाडौं

करातेमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङले इटालीमा आयोजना हुने १३ औं विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छन् । 

इटालीको भेनिसमा यही असोज २३ देखि २७ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट एरिकाले सहभागिता जनाउन लागेकी हुन् । एरिकाले २१ वर्ष उमेर समूहमुनीको महिला ६८ केजीमाथि तौलमा प्रतिस्पर्धा गर्ने छिन् । एरिकाको खेल असोज २३ मा हुनेछ । 

यो स्पर्धाको सेमिफाइनल र फाइनल खेल भने असोज २७ मा हुनेछ । क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने प्रतियोगितामा १ सय १३ राष्ट्रका १ हजार ९ सय ९५ खेलाडीको सहभागिता रहने छ । टोलीका प्रशिक्षकमा कुशल श्रेष्ठ, अफिसियलमा तारा गुरुङ र सन्तोष श्रेष्ठ छन् । एरिकाको यो समग्रमा छैटौं अन्तर्राष्ट्रिय सहभागिता हो ।

 विगतका पाँचै अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई पदक दिलाएकी छन् । त्यसमा ४ स्वर्ण, ३ रजत र १ कांस्य रहेको छ । यो सफलता एरिकाले एक वर्षको अवधिमा पाएकी हुन् ।  


प्रतिक्रिया