कर्णाली यश्विस एभरेस्ट महिला भलिबल लिग च्याम्पियन

आश्विन २०, २०८१ | काठमाडौं

कर्णाली यश्विसले अपराजित रहँदै नेपालमा पहिलोपल्ट आयोजित फ्रेन्चाइल लिग वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी उचालेको छ । 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा गएराति भएको फाइनलमा कर्णालीले आफ्नो प्रभावशाली प्रदर्शन कायम राख्दै ललितपुर क्विन्समाथि ३–२ सेटको संघर्षपूर्ण जित निकालेको थियो । 

महिला भलिबलका अनुभवी प्रशिक्षक कुमार राईले लिगका ६ खेल खेल्दा तीन पटक गाह्रो अवस्था पार लगाउँदै उपाधि जित्नु एकदमै चुनौतीपूर्ण रहेको बताउनुभयो । सुरुवाती दुई सेटमा अग्रता बनाएको कर्णालीले लगातार दुई सेट गुमाएपछि खेल अन्तिम तथा पाँचौं सेटमा पुगेको थियो । 

अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले ट्रफी उचालेको हो । दुई सेटमा नराम्रो झड्का बेहोरेपछि कर्णालीले अन्तिम सेटमा हरेक अंकका लागि संघर्ष गर्नुप¥यो । सुरुका दुई सेटमा कर्णाली २५–१७, २५–२० ले अगाडि थियो ।

कर्णालीविरुद्ध ललितपुरले तेस्रो २५–१२, चौथो सेट २५–१८ ले जितेर खेल २–२ को स्थितिमा पु¥याएको थियो । अन्तिम सेटमा १२–१२ को बराबरीबीच कर्णालीले बाजी मारेको थियो । फाइनल जिताउन महत्वपूर्ण बनेकी आउटसाइड हिटर टर्कीकी जेनेप ओटुरान प्लेयर अफ द म्याच बनिन् । 

विजेता कर्णाली यश्विसले ७ लाख र उपविजेता ललितपुर क्विन्सले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ । व्यक्तिगत पुरस्कारमा जेनेपले दुई विधामा गरी २५ हजार पुरस्कार पाइन् । 

इन्फिनिटी ड्रिम्सले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज महिला भलिबल लिगमा ६ टोलीले प्रतिस्पर्धा गरेकामा शीर्ष दुई टोली फाइनल पुगेका थिए ।


प्रतिक्रिया