अस्ट्रेलियासँग न्यूजिल्यान्ड ६० रनले पराजित

आश्विन २३, २०८१ | काठमाडौं

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्यूजिल्यान्डलाई पराजित गरेको छ । संयुक्त अरब इमिरेट्स यूएईको शारजहा क्रिकेट स्टेडियममा गएराति भएको समूह ‘ए’को खेलमा अस्ट्रेलियाले न्यूजिल्यान्डलाई ६० रनले हराएको हो । 

जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सक्यो । न्यूजिल्यान्डका लागि अमेलिया केरले सर्वाधिक २९ रनको योगदान गरिन् । अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । अस्ट्रेलियाका लागि मेगन शट र अन्नाबेल सदरल्याण्डले समान ३÷३ विकेट हात पारिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि बेथ मुनीले सर्वाधिक ४० रनको योगदान गरिन् । 

यस्तै, एलिस पेरीले ३० तथा कप्तान एलिसा हेलीले २६ रन बनाएर आउट भईन् । यो नतिजासँगै दुई खेलमा जित हात पार्दै चार अंकका साथ अस्ट्रेलिया समूह एको शीर्ष स्थानमा रहेको छ । न्यूजिल्यान्ड २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

यस्तै, टी–२० महिला विश्वकप अन्तर्गत आज दुई खेल हुँदैछन् । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने पहिलो खेलमा समूह ‘बी’को स्कटल्याण्डले साउथ अफ्रिकाको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा इण्डियाले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने समूह ‘ए’को इण्डिया र श्रीलंकाबीचको खेल राति पौने आठ बजे सुरु हुनेछ ।


प्रतिक्रिया