एनपीएलको उपाधिका लागि जनकपुर र सुदूरपश्चिम खेल्ने

पुस ४, २०८१ | काठमाडौं

पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

दोस्रो क्वालिफायरमा आज कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुरले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।

जारी एनपीएलमा सुदूरपश्चिम र जनकपुरबीच तेस्रो पटक भेट हुनेछ । यसअघि लिग चरण र पहिलो क्वालिफायरको गरी दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । जनकपुरको जितमा जेम्स निशमले १७ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन जोडे ।

हर्ष ठाकरले १७ रन बनाए । कर्णालीका लागि युवा बलर विपिन शर्माले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले समान १÷१ विकेट लिए । त्यसअघि कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे ।

जनकपुरका जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २ तथा हर्ष ठाकर र शेर मल्लले समान १ विकेट लिए । एनपीएलको फाइनल खेल पर्सि शनिबार हुनेछ । यसैबीच, प्रतियोगितामा कर्णाली तेस्रो र इलिमिनेटरमा पराजित चितवन राइनोज चौथो भएका छन् ।  


प्रतिक्रिया