द हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरियो
कार्तिक १७, २०८१ | काठमाडौं
द हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
टस जितेर फिल्डीङ गर्ने निर्णय गरेपछि सुरुवाती ब्याटिङ गर्दै श्रीलंकाले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल सबै विकेट गुमाउँदै ८३ रनमा रोकिएको हो ।
सो क्रममा नेपालका लागि रासीद खानलेसर्वाधिक ५५ रन बनाए । उनले ८ छक्का र १ चौकाको मद्दतमा सो रन बनाएका हुन् । ओपनर लोकेश बम ६ रनमा आउट हुँदा सन्दिप जोरा पहिलो बलमै आउट भए । नारायण जोशीले २ छक्का सहित १३ रन बनाए ।
त्यसअघि श्रीलंकाले ६ ओभरमा २ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । नेपालका लागि प्रतिश जिसी र नारायण जोशीले एक एक विकेट लिए ।
यसैबीच आज विहान भएको समूह चरणको दोस्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थिायो । सो सँगै नेपाल समूह विजेता समेत बनेको थियो । प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्याडमाथि ६ विकेटको जित हात पारेको थियो ।