नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

कार्तिक १९, २०८१ | काठमाडौं

नेपालले आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–टू को आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डको सामना गर्दैछ । अमेरिकाको डालासस्थित मैदानमा हुने नेपाल र स्कटल्यान्ड बीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ । 

नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै लिग टू अन्तर्गत अमेरिका भ्रमण टुंग्याउन लागेको हो । यसअघि सिरिजको दुई खेलमा घरेलु टोली अमेरिकासँग पराजित भएको थियो । 

अमेरिकासँग पहिलो खेलमा नेपाल तीन विकेट र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो । अमेरिकासँग लगातार दुई खेल गुमाएको नेपाल आज जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा छ । यता स्कटल्यान्ड भने पहिलो खेलमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

स्कटल्यान्डविरुद्ध भने नेपाल तीन एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआइ यता अपराजित छ । यस सिरिजको पहिलो खेलमा नेपाल स्कटल्यान्डविरुद्ध ५ विकेटले विजयी भएको थियो । 

उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालले स्कटल्यान्डलाई ४१ दशमवल ४ ओभरमा १ सय ५४ रनमा अल आउट गरेको थियो । जवाफमा नेपालले २९ ओभर ५ बलमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो । 

लिग–टू का ११ खेल सम्पन्न भईसकेकोमा नेपालले भने अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । तालिकाको सातौं स्थानमा रहेको नेपालको मात्र ५ अंक छ । नेपालले ११ खेलमा २ मा जित र ८ खेलमा हार व्यहोरेको छ । दश खेलबाट ६ मा जित र ३ खेल गुमाएको स्कटल्यान्ड भने १३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।


प्रतिक्रिया