पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा
मंसिर १, २०८१ | काठमाडौं
क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट गोलको मद्दतमा पोल्याण्डलाई पराजित गर्दै पोर्चुगल नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । पोर्चुगलले घरेलु मैदानमा गएराति भएको लिग ‘ए’ ग्रुप–वानको खेलमा पाहुना टोली पोल्यान्डलाई ५–१ गोलले हराएको हो ।
खेलको पहिलो गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पोर्चुगलले उत्कृष्ट आक्रमण खेल प्रदर्शन गरेको थियो । खेलको ५९ औं मिनेटमा राफेल लिओको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो ।
रोनाल्डोले ७२ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि ८७ औं मिनेटमा दोस्रो थपे । उनले उत्कृष्ट ‘बाइसाइकल किक’ को मद्दतले दोस्रो गोल गरेका हुन् । नेसन्स लिगमा रोनाल्डो लयमा फर्केका छन् र पाँच गोल गरिसकेका छन् ।
ब्रुनो फर्नानडेज र पेड्रो नेटोको नाममा एक÷एक गोल रह्यो । यो नतिजाले पोर्चुगल लिग–ए ग्रुप–वानको शीर्षमा रहने निश्चित भएकोछ । डोमिनिक मार्कजुकले पोल्याण्डका लागि खेलको ८८ औं मिनेटमा एक गोल फर्काए ।
लिग–ए ग्रुप–वानको अर्को खेलमा स्कटल्यान्डले क्रोएसियालाई १–० गोल ले पराजित गरेको छ । नेसन्स लिग फुटबलकमा स्कटल्यान्डको यो पहिलो जित हो । वैकल्पिक खेलाडी जोन म्याकगिनले खेलको ८६ औं मिनेटमा गोल गर्दै १० खेलाडी सीमित क्रोएसियालाई पराजित गरेको हो ।
यस्तै, लिग–ए ग्रुप–फोरमा युरोपेली च्याम्पियन्स स्पेनले डेनमार्कलाई २–१ गोलले हराएको छ । स्पेनको जितमा मिकेल ओयारजाबलले खेलको १५ औं र अयोजे पेरेजले ५८ औं मिनेटमा गोल गरेका थिए ।
यो नतिजासँगै स्पेन नेसन्स लिगको समूहको शीर्ष स्थानमा उक्लिएको छ । स्पेन यसअघि नै यस समूहबाट क्वाटरफाइनल पुगिसकेको छ । सोही समूहको अर्को खेलमा स्विटजरल्यान्ड र सर्बियाले १–१ गोलको बराबरी खेलेका छन् ।