पूर्वसभामुख ढुंगानाको ८३ बर्षको उमेरमा निधन

मंसिर २, २०८१

नेपालको लोकतान्त्रिक आन्दोलन र संसदीय अभ्यासमा महत्वपूर्ण योगदान गरेका पूर्वसभामुख एवम् अधिकारकर्मी दमननाथ ढुंगानाको ८३ बर्षको उमेरमा निधन भएको छ । कलेजोसम्वन्धि रोगबाट पीडित ढुंगानालाई अस्पताल लैजाने क्रममा आज अपरान्ह एक बजेतिर निधन भएको हो । उहाँको केही महिनाअघि भारतको नयाँ दिल्लीमा समेत उपचार गरिएको थियो । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल घिमिरेका अनुसार ढुंगानाको पार्थिव शरीर काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । विदेशमा रहेका छोरा नेपाल फर्किएपछि भोलि अन्त्येष्टी गरिने भएको छ । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना २०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुनुहुन्थ्यो । 

२०४८ आमनिर्वाचनमा काठमाडौंबाट निर्वाचित भएपछि उहाँ सभामुख बन्नुभएको हो । त्यसअघि २०४६ सालको जनआन्दोलनपछि तत्कालिन समयमा गठन गरिएको संविधान सुझाव आयोगको सदस्यको जिम्मेवारी समेत ढुंगानाले निर्वाह गर्नुभएको थियो । २०६२–६३ को दोस्रो जनआन्दोलनमा नागरिक अगुवाको रुपमा उहाँले लोकतान्त्रिक अभियानमा योगदान गर्नुभएको थियो । त्यस्तै, विद्रोही माओवादीको शान्तिपूर्ण रुपान्तरण र मुलुकको शान्ति प्रक्रियाका लागि समेत ढुंगानाले महत्वपूर्ण योगदान गर्नुभयो । 

२०७४ सालको आमनिर्वाचनमा भक्तपुर–२ मा नेपाली कंग्रेसको तर्फबाट प्रतिस्पर्धा गरेपनि ढुंगाना पराजित हुनुभएको थियो । ढुंगाना नेपाल वार एसोसिएसनको महासचिव समेत बन्नुभएको थियो । नागरिक समाजको तर्फबाट ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा योगदान गरेपनि कतिपय वृत्तबाट भने उहाँको आलोचना समेत भएको थियो । पछिल्लो समय ढुंगानाले संविधान कार्यन्वयनमा देखेका परेका समस्या र राजनीतिक अस्थिरताको बिषयमा नेतृत्वप्रति टिप्पणी गदै आउनुभएको थियो । 


प्रतिक्रिया