कर्नाटकसँगको सिरिजमा नेपाल ३–२ ले विजयी
मंसिर ६, २०८१ | काठमाडौं
एसीसी मेन्स यू–१९ एसिया कपको तयारीका लागि भारतको कर्नाटक टीमसँग खेलिएको क्रिकेट सिरिज नेपालले जितेको छ ।
अन्तिम तथा पाँचौं म्याचमा नेपालले आज कर्नाटकमाथि ७ विकेटको जित निकाल्दै सिरिज ३–२ ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्नाटकको टोलीले दिएको १ सय ९१ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ४० औं ओभरमा भेट्टाएको हो ।
नेपालको जितमा ओपनर आकाश त्रिपाठीले नटआउट रहँदै सर्वाधिक ८९ रन जोडे । १ सय ५ बलको सामना गरेका त्रिपाठीले ७ चौका र १ छक्को मद्दतमा सो योगफल तयार पारेका हुन् । यस्तै मयन यादवले ६६ बलमा ६ चौका र १ छक्का सहित ५० रनको अर्धसतकीय इनिङ्स खेले ।
पुरुष यू–१९ एसिया कप २०२४ यहि मंसिर १४ गतेदेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित आठ राष्ट्र सहभागी छन् ।
समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’मा नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।नेपालले मंसिर १४ गते हुने पहिलो खेलमा श्रीलंकासँग खेल्ने छ ।