म्यानचेस्टर सिटी टोटनह्यामसँग स्तब्ध
मंसिर ९, २०८१
जेम्स म्याडिसनको दुई गोल मद्दतमा टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा भएको पछिल्लो खेलमा म्यान सिटीले पाहुना टोली टोटनह्यामसँग ४–० गोलको हार व्यहोरोको हो ।
सिटीको यो लगातार पाँचौँ हार हो । सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित रहेको यो पहिलो पटक हो । खेलको पहिलो हाफमै म्याडिसनले दुई गोल गरेपछि पेड्रो पेरोले टोटनह्यामका लागि तेस्रो गोल थपे । त्यसपछि ब्रेनन जोन्सनले इन्ज्युरी समयमा चौंथो गोल गरे ।
म्याडिसनले खेलको १३ औं मिनेटमा टोटनह्यामलाई अग्रता दिलाएका थिए । खेलको २० औं मिनेटमा म्याडिसनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
पेरोले ५२ औं मिनेटमा अर्को गोल थप्दै टोटनह्यामलाई ३–० को अग्रता दिलाए । दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा जोन्सनले टोटनह्यामका लागि चौंथो गोल गरे ।
यो नतिजासँगै घरेलु मैदान इतिहाडमा पेप ग्वार्डिओलाको सिटीको ५२ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । यो नतिजाका बाबजुद सिटी १२ खेलबाट २३ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा छ ।
टोटनह्याम समान १२ खेलबाट १९ अंकका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ र सिटीभन्दा चार अंकले पछाडि छ । चेल्सी, आर्सनल र ब्राइटन समान २२ अंकमा शीर्ष पाँच भित्र छन् ।