चितवन राइनोज र कर्णाली याक्स् प्रतिस्पर्धा गर्दै
पुस ३, २०८१ | काठमाडौं
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको एलिनिमेटरमा चितवन राइनोज र कर्णाली याक्स्बीच प्रतिस्पर्धा भईरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ् गर्ने निर्णय गरेको छ ।
चितवन र कर्णालीबीचको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । एलिमिनेटर खेल भएकाले पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । विजयी टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
चितवन लिग चरणमा ७ मध्ये ४ खेल जित्दै ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । समान आठ अंकसहित कर्णाली चौंथो स्थानमा छ । दुबै टोलीले समान ८ अंक जोडे पनि नेट रनरेटमा चितवन तेस्रो स्थानमा रहेको हो ।
लिग चरणमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । चितवन सो हारको बदला लिने योजनामा हुनेछ भने कर्णाली सोही नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ ।
चितवनले लिग चरणमा सुदूरपश्चिम र जनकपुर जस्ता बलिया टोलीलाई हराएको थियो । चितवनलाई शरद भेषावकर सहित रवि बोपारा र सोहेल तन्विरको साथ छ । अस्ट्रेलियन अलराउण्डर विलियन बोसिस्टो आएपछि कर्णालीले राम्रो प्रदर्शन गरेको थियो ।
कर्णालीले पनि सुरुआती दुई खेल गुमाएपछि शानदार पुनरागमन गर्दै लगातार ४ खेल जितेको थियो । कर्णालीले लिगमा चितवन, पोखरा, लुम्बिनी र विराटनगरलाई हराएको थियो । लिगको अन्तिम खेलमा भने सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो ।