कर्णालीले दियो चितवन राइनोजलाई १७६ रनको लक्ष्य
पुस ३, २०८१ | काठमाडौं
कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको इलिमिनेटर खेलमा चितवन राइनोजलाई १ सय ७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विदेशी खेलाडीको उत्कृष्ट ब्याटिङमा कर्णालीले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनायो ।
कर्णालीका लागि जयकिशन कोल्शावालाले ५३, विलियम बोसिस्टोले ५२ चाडविक वाल्टनले अविजित ४६ रन बनाए । विकेटकिपर–ओपनिङ ब्याटर कोल्शावालाले ६ चौका र २ छक्का तथा उच्च फर्ममा रहेका बोसिस्टोले ३ चौका र २ छक्का प्रहार गरे । वाल्टनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।
रित गौतम र गुलशन झाले खाता खोल्न सकेनन् । जेसन मक्सुद १४ र देव खनाल ३ रन बनाई आउट भए । चितवनबाट सोहेल तनवीरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । शरद भेषावकर, रवि बोपारा र कप्तान कुशल मल्लको नाममा १–१ विकेट रह्यो ।
चितवन अहिले जवाफी ब्याटिङमा छ । राउन्ड रोबिन लिगमा चितवन र कर्णाली दुवैले समान ४ खेल जितेर प्लेअफमा पुगेका थिए । नेट रन रेटका कारण चितवन तेस्रो स्थानमा रहेको थियो । चितवन र कर्णाली बीचको विजेताले क्वालिफायर २ मा खेल्ने छ ।