ह्यारी म्यागुएरको गोलमा म्यानचेस्टर युनाइटेड विजयी
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/sports/manchester08220250236061000x0-1738982629.jpg&w=700&height=600)
माघ २६, २०८१ | काठमाडौं
ह्यारी म्यागुएरको गोलमा म्यानचेस्टर युनाइटेडले एफए कप फुटबलमा लेस्टर सिटीलाई पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले पाहुना टोली लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको हो ।
प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत लेस्टरले खेलको ४२ औं मिनेटमा बबी डे कारडोभाको गोल मार्फत अग्रता लिएको थियो । जोसुआ जिर्कजीले घरेलु टोली युनाइटेडका लागि ६८ औं मिनेटमा बराबरी गोल फर्काए ।
दोस्रो हाफको इन्ज्युरी समयमा म्यागुएरले हेडबाट निर्णायक गोल गरेका हुन् । गोलका क्रममा म्यागुएर अफसाइड रहेका थिए, तर एफए कपको यो चरणमा भिडियो सहायक रेफ्री ‘भार’ लागू नभएकोले गोलले मान्यता पाएको थियो ।