आहा–रारा गोल्डकपमा पुलिसले ब्रिगेड ब्वाइजको सामना गर्ने

माघ २६, २०८१ | पोखरा

पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल आज सुरु हुँदैछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले भारतको ब्रिगेड ब्वाइज क्लब यूकेको सामना गर्नेछ । 

पुलिसले आयोजक सहारा क्लबलाई हराएर क्वाटरफाइनल प्रवेश गरेको थियो भने ब्रिगेड ब्वाइज क्लबले सोझै क्वाटरफाइनलमा छानिएको हो । पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले पराजित गरेको थियो । 

पुलिस क्लब ६ पटकको उपाधि विजेता र ५ पटकको उपविजेता टोली हो । पुलिसले लगातार तीन पटक जितेर ह्याट्रिक गरिसकेको छ । यसअघि पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ मा उपाधि जितेको थियो ।

यसअघि हिजो भएको खेलमा दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड आहा–रारा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । आगामी फागुन ३ मा हुने फाइनल विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँँ पुरस्कार पाउनेछन् ।


प्रतिक्रिया