बागमती गोल्डकपमा एपीएफ र भरतपुरबीच प्रतिस्पर्धा हुने

फाल्गुन ४, २०८१ | मकवानपुर
बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब र चितवनको भरतपुर एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । मकवानपुरको बागमती गाउँपालिका–४ स्थित सहिद स्मृति रंगशालामा एपीएफ र भरतपुर एफसीबीचको खेल दिउँसो २ बजेपछि सुरु हुनेछ ।
दुबै टोली आज पहिलो जितको लक्ष्यमा छ । हिजोबाट सुरु भएको सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सलार्हीको बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।
बागमतीले आयोजक टोली बागमती गाउँपालिका खेलकुद विकास समितिलाई १–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल फागुन १३ गते हुनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको छैठौं संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो । कुल ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि आयोजकले २५ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।