प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र पुलिसको लगातार दोस्रो जित

फाल्गुन २९, २०८१ | तिलोत्तमा

रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब विजयी भएका छन् । आर्मी र पुलिसको यो लगातार दोस्रो जित हो । 

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बुधबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ११८ रनको लक्ष्य पछ्याएको आर्मीले २३ ओभर ५ बलमा २ विकेट गुमाएर ११९ रन बनायो । आर्मीको जितमा सन्तोष कार्कीले ५५ रनको अर्धशतकीइ इनिङ्गस् खेले । उनले ६३ बलमा १० चौकार प्रहार गरे । तृतराज दासले ३१, बिनोद भण्डारीले अविजित २० रनको योगदान गरे । सुदूरपश्चिमका शेर मल्ल र मिलन बोहराले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गरेको सुदूरपश्चिम ४५ ओभर ३ बलमा अलआउट हुादै ११७ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले नटआउट ४९ रनको योगदान गरे । सुनिल चन्द र नारायण जोशीले समान १६/१६ रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

बलिङ्गमा आर्मीका लागि सहाव आलम एक्लैले चार विकेट लिए । आलमले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चिए । उनी प्लेयर अफ द म्याच घोषित भए । सोमपाल कामीले २ विकेट हात पारे । उनले ६ ओभरमा ३ मेडन राख्दै १६ रन खर्चिए । यस्तै, आकाश चन्द, नरेन साउद, कुशल मल्ल र बसिर अहमदको नाममा एक/एक विकेट रहृयो । 

आर्मी लगातार दोस्रो जित हासिल गर्दै चार अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिम २ अंकका साथ तालिकाको सातौं स्थानमा रहृयो । तीन खेल खेलेको सुदूरपश्चिम एकमा जित र दुईमा पराजित भएको थियो ।

पुलिस क्लब १५४ रनको फराकिलो अन्तरले विजयी

बुधबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई १५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितका लागि पुलिसले दिएको २८९ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ३६ ओभर २ बलमा १३४ रनमा अलआउट भयो । 

कोशीका लागि सुजन थपलियाले अविजित ३३ र अंकित सुवेदीले २१ रनको योगदान गरे । शकिब हकले १७ र फिर्दोस अन्सारीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । कोशीलाई सस्तैमा समेट्न पुसिलका लागि करण केसीले तीन विकेट लिए । ललित राजवंशी र कुल भुर्तेलले समान २–२ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरी, गुल्सन झा र सागर ढकालको नाममा एक/एक विकेट रहृयो ।

त्यसअघि तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको पुलिसले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको उच्च योगफल तयार पारेको थियो । अर्जुन साउद ३८ रन बनाएर आउट भए ।

पुलिसका लागि कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । भुर्तेलले ७८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६५ रन जोडे । दिलिप नाथले ६१ रनको अर्धशतकीय इनिङ्गस् खेले । यस्तै, रासिद खानले ३८, दीपेन्द्र सिंह ऐरीले ३२ र गुल्सन झा २१ रन बनाएर आउट भए । 

बलिङ्गमा कोशीका लागि भुपाल लुईटेलले सर्वाधिक ३ विकेत हात पारे । प्रकाश कार्कीले २ तथा फिर्दोस अन्सारी, श्रवन किस्कु र लिपेन कँडेलले समान एक/एक विकेट लिए । यो नतिजापछि पुलिस लगातार दोस्रो जितका साथ चार अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । लगातार तीन खेलमा पराजित कोशी प्रदेश भने अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ । 

बिहीबार सिद्धार्थ क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश भिड्नेछन् भने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच खेल हुनेछ ।


प्रतिक्रिया