सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु-११ लाई

फाल्गुन २९, २०८१ | तिलोत्तमा
रुपन्देहीको सैनामैनामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु–११ ले जितेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना रंगशालामा बुधबार भएको फाइनलमा कपिलवस्तु–११ ले अभिषेक चर्च नवलपुरलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको १० मिनेटमा कपिलवस्तु–११ का लागि खेलेका विदेशी खेलाडी मोहम्मद इन्द्रेसले गोल गरे ।
इन्द्रेसले गरेको एक मात्र गोल कपिलवस्तुको जितका लागि पर्याप्त बन्यो । १० दिनसम्म चलेको प्रतियोगितामा नेपालका दुई विभागीय र भारतको एक सहित १० टिमको सहभागिता थियो ।
खेलमा उपाधि विजेता कपिलवस्तु–११ ले ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता अभिषेक चर्च नवलपुरले ४ लाख रुपैयाँ प्राप्त गरेको छ । विजेता खेलाडीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुरस्कार वितरण गर्नु भएको थियो ।