विराट गोल्डकप फुटबलको उपाधि थ्रीस्टारलाई

फाल्गुन २९, २०८१ | विराटनगर

विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको छ । विराट गोल्डकप फुटबल प्रतियोगितामा थ्रीस्टार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि थ्रीस्टारले पाँचौं विराट गोल्डकपको उपाधि जितेको थियो ।

विराटनगरस्थित सहिद रंगशालामा बुधबार मध्यराति सम्पन्न फाइनल खेलमा थ्रीस्टारले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै थ्रीस्टारले ११ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँमा चित्त बुझाय‍ो । थ्रीस्टारका खेमराज श्रेष्ठले खेलको ५ औं मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६३ औं मिनेटमा दिपेश घलेले गोल थिप्दै अग्रता दोब्बर बनाए । 

सुरुवातमा आक्रामक खेलेको चर्च ब्वाइजलाई थ्रीस्टार क्लबले टेक्निकल खेल प्रदर्शन गर्दै पराजित गरेको हो । थ्रीस्टारले विधागत रूपमा पनि आफ्नो बर्चस्व कायम राख्यो । चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रे पनि सफल हुन सकेन । यसअघि थ्रीस्टारले पाँचौं संस्करणको विराट गोल्डकपमा नेपाली सेनाको आर्मीलाई ३-० गोलले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

प्रतियोगितामा थ्रीस्टारका गणेश खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । थ्रीस्टारकै विवेक मगर उत्कृष्ट गोलरक्षक, दिपेश घले सर्वाधिक गोलकर्ता र खेमराज श्रेष्ठ वेष्ट प्लेयर अफ द टुर्नामेण्ट घोषित भए । चर्च ब्याइजका एकराज बुढाथोकी म्यान अफ द म्याच भए । उनीहरूलाई समान १५ हजारका दरले पुरस्कृत गरियो । 

थ्रीस्टारले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । चर्च ब्वाइजले दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।


प्रतिक्रिया