प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णालीको चौंथो जित

चैत्र ८, २०८१ | तिलोत्तमा
सन्दीप जोराको अर्धशतक मद्दतमा विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा एपीएफले सुदूपश्चिमलाई ३ विकेटले हराएको हो । उपाधि दाबेदार एपीएफको यो चौंथो जित हो ।
जितका लागि सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य एपीएफले ३६.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफका लागि सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारी खेले । जोराले ६८ बलमा ५ चौका प्रहार गरे । आसिफ शेखले ३२, ओपनर लोकेश बमले १९, दिपक बोहराले १६ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले १४ रन बनाउँदा भुवन कार्की १४ रनमै नटआउट रहे । सुदूरपश्चिमका लागि शेर मल्ल, विकास आग्री र नारायण जोशीले समान २–२ विकेट हात पारे ।
त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । सुदूरका लागि निश्चल क्षेत्रीले ५७ रनको अर्धशतकीय इनिङ खेले । उनले ९२ बलमा ८ चौका र एक छक्का प्रहार गरे । प्रकाश पाण्डे ४२ रन बनाएर रनआउट भए ।
किरण ढगुन्नाले १२, सुनिल चन्द र हेमन्त धामीले समान १०–१० रन बनाउँदा शेर मल्लले ११ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा एपीएफका कप्तान रोहित पौडेल र अमर राउटेलाले समान ३–३ विकेट लिए । भुवन कार्कीले २ तथा अभिषेक गौतमले १ विकेट हात पारे ।
यो नतिजासँगै विभागीय टोली एपीएफ क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एपीएफले ६ खेलबाट चारमा जित र २ मा पराजित हुँदै आठ अंक जोडेको छ । पराजित सुदूरपश्चिम चार अंसहित तालिकाको छैटौं स्थानमा रहृयो । विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । त्रिभुवन आर्मीले १२ अंकसहित दोस्रो स्थानमा छ ।
दीपेन्द्र रावतको अलराण्ड प्रदर्शनमा कर्णालीको चौंथो जित
दीपेन्द्र रावतको अलराउण्ड प्रदर्शनमा कर्णालीले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा शुक्रबार भएको खेलमा कर्णालीले मधेशलाई ८१ रनले पराजित गरेको हो । योसँगै कर्णालीले जारी प्रतियोगितामा चौंथो जित हासिल गरेको छ ।
यसअघि बिहीबार भएको खेलमा पनि दीपेन्द्र रावतले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशलाई हराएको थियो । कर्णालीले दिएको २२१ रनको विजयी लक्ष्य पछ्याएको मधेश ३५.२ ओभरमा अलआउट हुँदै १३९ रनमा समेटियो । मधेशका लागि रुपेस सिंहले बनाएको ३० रननै व्यक्तिगत सर्वाधिक ठूलो स्कोर रहृयो । उनले ५३ बलमा तीन चौका प्रहार गरे ।
विशाल पटेलले २५, हरिशंकर साहले १८ र शैलेन्द्र साहले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान अनिल साह ५ रनमा आउट भए । मधेशलाई सस्तैमा रोक्न कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका अधिकारीले ४१ रन खर्चिए । दीपेन्द्र रावतले ३ तथा प्रकाश जैशीले २ विकेट हात पार्दा सुनिल धमलाको नाममा एक विकेट रहृयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २्र२० रन बनाएको थियो । कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६१ रनको योगदान गरे । रावतले ९२ बलमा ६ चौका प्रहार गरे । उनी प्लेयर अफ दी म्याच घोषित भए । यस्तै, अर्जुन घर्तीले २० बलमा २ चौका र १ छ्रक्कासहित २६ रन बनाए ।
दिनेश अधिकारीले २४ र प्रकाश जैसीले २० रन जोड्दा कप्तान दिवान पुनले अविजित १८ रन बनाए । बलिङमा मधेशका लागि रुपेश सिंह, रञ्जित कुमार, हरिशंकर साह, कमल गुप्ता र कप्तान अनिल साहले समान २/२ विकेट लिए । यो नतिजासँगै कर्णाली प्रदेश अंक तालिकाको शीर्ष चारभित्र रहन सफल भएको छ । कर्णालीले ७ खेलबाट चारमा जित र तीनमा हार व्यहोर्दै ८ अंक जोडेको छ । पराजित मधेश भने ६ खेलबाट चार अंकका साथ तालिकाको सातौं स्थानमा झरेको छ ।