राष्ट्रिय महिला फुटबलः नेपाल पुलिस विजयी

वैशाख २१, २०८२ | मकवानपुर
नेपाल पुलिस क्लब हेटौंडामा जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा आज भएको खेलमा रौतहटको महिला टिमलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेलको नतिजा सिधै टाइब्रेकरबाट लिइएको हो । विजयी टोली पुलिसको तर्फबाट टाइब्रेकरमा रेविका पाण्डे, निरु थापा, उषा नाथ र सरु वाईबाले गोल गरिन् भने गीमकुमारी गुरुङको प्रहार बाहिरिएको थियो ।
रौतहटका लागि सविना चौधरी र सलोनी राना गरिन् भने मनिषा श्रेष्ठ र अञ्जली चन्दकी प्रहार पुलिसकी गोलरक्षक उषा नाथले बचाएकी थिइन् । खेलको म्यान अफ द म्याच पुलिसकी गोलरक्षक उषा घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । जीतसँगै प्रहरी सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत् भोलि सशस्त्र प्रहरीको एपीएफ क्लब र बीरगञ्ज युथ एकेडेमबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।