एन्फा यु–१६ युथ लिगः आजका खेलमा आर्मी र मनाङ विजयी

श्रावण ९, २०८२ | काठमाडौं
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा यु–१६ युथ लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले सातदोबाटो युथ क्लबलाई ३–१ गोलले पराजित गर्यो । आर्मीलाई जित दिलाउन नीरज अधिकारी, युजल भण्डारी र सोहित वाइबाले एक÷एक गोल गरे । सातदोबाटोका मुक्सन राईले एक गोल फर्काए । जितसँगै आठ खेलमा ६ अंक जोडेको आर्मी ११ औं स्थानमा उक्लिएको छ । सातदोबाटो अंकविहीन छ ।
अर्को खेलमा मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पा क्लबमाथि ४–२ को जित हासिल गरेको छ । मनाङको जितमा प्रकाश सिंहले २ तथा रोहन थापामगर र सन्देश तामाङले एक÷एक गोल गरे । हिमालयन शेर्पाका लागि जेनील सुब्बा र संगे शेर्पाले एक÷एक गोल गरे । जितसँगै मनाङ ८ खेलमा १७ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लियो । समान खेलमा शेर्पा १० अंक जोड्दै आठौं स्थानमा छ ।