राष्ट्रिय महिला फुटबलमा वीरगञ्ज युथ एकेडेमीविरुद्ध एपीएफको १२ गोल

वैशाख २३, २०८२ | मकवानपुर

हेटौंडामा जारी राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबले वीरगञ्ज युथ एकेडेमीलाई १२–० गोलको फराकिलो अन्तरले हराएसँगै सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको हो । 

फाइनल प्रवेशका लागि एपीएफले ए डिभिजन क्लब संकटा क्लबको सामना गर्नेछ । फाइनल पुग्नका लागि नेपाल पुलिस क्लबले चितवन फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दुवै सेमिफाइनल खेल मंगलबार हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा वीरगञ्जसँगको खेलमा एपीएफले एक दर्जन गोल गर्दै उपाधिमा दाबेदारी प्रस्तुत गरेको छ । अधिकांश अनुभवी र महिला फुटबलको चर्चित खेलाडीसहित मैदानमा उत्रिएको एपीएफ खेलभरी पूर्णरुपमा वीरगञ्जमाथि हावी भयो । 

अनुभवको अभावमा वीरगञ्जले खेलमा कुनै जादु देखाउन सकेन । एपीएफले गरेको डिबक्स बाहिरबाट प्रहार गरेको अधिकांश बल गोलमा परिणत भएको थियो । खेलमा वीरगञ्जको फरवार्डले केही राम्रो मौका प्राप्त गरेपनि डिफेन्स र मिडफिल्डर भने कमजोर सावित भएको थियो । त्यसको फाइदा उठाउँदै एपीएफले वीरगञ्जालाई दबाबमा राखेको थियो ।

पहिलो हाफमा ५ गोल गरेको एपीएफले दोस्रो हाफमा ७ गोल थप्यो । एपीएफको जितमा रश्मी कुमारी घिसिङ नायिका बनिन् । उनले ५ गोल गरिन् । उनले खेलको २३, ४९ र ६९ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने ७० औं र ७८ औं मिनेटमा थप गोल गरिन् । यो सँगै रश्मीले गोल्डकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेकी छन् । 

यसअघि संकटाकी ममता पुनले सिमराविरुद्धको खेलमा व्यक्तिगत ५ गोल गरेकी थिइन् । सरु लिम्बुले १९ औं मिनेटमा पहिलो गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको २५ औं मिनेट अनिता केसी, ३५ औं मिनेटमा पुनः सरु लिम्बुले, ३९ मिनेट अनिता बस्नेत, ४५ औं मिनेटमा मन्जली योञ्जन, ५१ औं मिनेटमा सजनी थोकर र ७३ औं मिनेटमा सविता रानाले गोल गरिन् । 

खेलको म्यान अफ द म्याच रश्मी घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


प्रतिक्रिया