पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग पोखरामा हुने

वैशाख २६, २०८२ | काठमाडौं

नेपाल भलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग पोखरामा हुने भएको छ । 

संघले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ८ देखि १५ गततेसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने जानकारी दिएको हो । नियमित रुपमा प्रतियोगिता हुँदै आएको काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको हो ।

 संघले गत संस्करणको लिगमा सहभागी भएका टिमलाई नै यसपटक निरन्तरता दिएको छ । यस वर्ष दशौं राष्ट्रिय खेलकुदको अनिश्चितता र मोफसलका प्रतियोगिताका कारण लिगको छनोटको रुपमा रहेको क्लब च्याम्पियनसिप आयोजना गर्न नसकेको संघले जनाएको छ । 

लिगमा महिलातर्फ ६ र पुरूषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुवैतर्फ विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैंया प्राप्त गर्नेछन् । लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया